रुकुम: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यो सरकारको नारा वायुपंखी घोडाको तर काम वयलगाडाको जस्तो भएको आरोप लगाएका छन्।

पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका–३ पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार संघीयताप्रति गम्भीर नभएको र यसले जनताको अपेक्षा अनुसार काम गर्न नसक्कने बताएका छन् । उनले भने, ‘वायुपंखी घोडाको कथामा जस्ता सपना नारामा देखाइएको छ तर काम भने वयलगाडा हिँडेजस्तो भएको छ ।’

सरकारले प्रस्तुत गरेको बजेट र निर्णयमा केन्द्रीयता लादिएको प्रधानमन्त्रीकै पार्टीका मन्त्री र सांसद्हरुले दिएको अभिव्यक्तिले प्रष्टाइरहेको उनको भनाइ थियो।


‘संघीयता शक्तिको अधिकतम विन्यास हो’, उनले भने, ‘तर प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरू अहिलेको बजेट र सरकारका निर्णयमा केन्द्रीयता लादिएको अभिव्यक्ति दिइरहेका छन्।’

प्रवक्ता शर्माले सरकारलाई कांग्रेसले रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिकामा सहयोग गरिरहेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको भूमिकालाई कमजोर देख्ने र बहुमतको दम्भले जे गरे पनि जे बोले पनि हुने मनस्थिति पालिरहेमा कांग्रेस कडारूपमा प्रस्तुत हुनेसमेत उनले बताए।

फरक प्रसंगमा प्रवक्ता शर्माले नेपालका सबै कम्युनिष्ट पार्टीलाई संसदीय प्रक्रियाको बाटोमा आउन आग्रह गरे । उनले पाटीभित्र संरचनाहरुको पूर्णता नहुनु, नाकाबन्दीताका खुलेर बोल्न नसक्नु पनि कांग्रेस हारको कारण रहेको चर्चा गरे ।