काठमाडौंः सरकारको अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको समाचार आजको गोरखापत्रको अर्थ बजारले क पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, बाग्लुङको ताराखोला गाउँपालिका–५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु भएको हो ।

स्थानीय समुदायको सेयर, लगानी तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत उपलब्ध गराइएको अनुदानसहित करिब २२ करोड रुपैयाँ लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको केन्द्रले जनाएको छ । यसमध्ये केन्द्रबाट नौ करोड २७ लाख रुपैयाँ अनुदान दिइएको आयोजना निर्देशक तिलक लिम्बूले जानकारी दिए ।


यसबाहेक संघीय सासद देवेन्द्र पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँ पनि सो आयोजनालाई उपलब्ध गराएका थिए । २०६९ सालदेखि बनाउने पहल हुँदै आएको सो आयोजना केन्द्रको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत २०७४ चैतदेखि निर्माण थालिएको थियो ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ०७:१९