काठमाडौंः लकडाउन प्रभावित गरिव, मजदुर, श्रमिक तथा ज्यालादारी गरी गुजारा गर्ने सर्वसाधाणका लागि विभिन्न सामाजिक संघसंस्था तथा दाताहरु राहत वितरणमा अग्रसर देखिएका छन् ।

सरकारले सञ्चालन गरेको प्रत्येक नगरपालिका तथा गाउँपालिकाको वडास्तरिय राहत वितरण कार्यक्रम पर्याप्त नभएकाले सामाजिक संघसंस्था र दाताहरु अग्रसर देखिएका हुन ।

यो एकहप्तामा काठमाडौंमा एक करोड भन्दा बढीको राहत वितरण भएको एक तथ्यांकले देखाएको छ ।

कुलेश्वरका थोकखाद्य स्टोर ब्यापारीहरुले कुलेश्वर–कालिमाटी क्षेत्रमा तीनहजार परिवारलाई चामल, दाल, तेल, नुन र गेडागुडी लगायतका खाद्य सामग्री वितरण गरेको छ ।


। युवा व्यवसायी जीवन चलाउनेले भरिया, मजदुर, श्रमिक र विपन्नलाई राहत वितरण गरिएको बताए ।

स्थानीय वडा र प्रहरीसँगको समन्वयमा युवा व्यवसायीहरु तथा खाद्य स्टोर ब्यापारीहरु सहकार्य गरी राहत वितरण गरिएको हो ।

त्यस्तैं, ठमेलस्थित लर्ड अफ डिङ्स नेपाल (एलओडी) संस्थाले पनि करिब पाँचसय घरपरिवारलाई पाँचकिलो चामल, एक–एक किलो दाल, गेडागुडी, तेल, आलु लगायतका राहत सामग्री वितरण गरेको छ ।

एलओडी नेपालका सञ्चालक भूपेन्द्रजंग कुँवरले राहतका लागि गरिव, मजदुर तथा श्रमिकहरुले सरकारकै मुख ताक्नु पर्ने बाध्यताको अन्त्य गर्नु पर्ने बताए । ठमेल, सोह्रखुट्टे र गल्कोपाखो क्षेत्रका मजदुर र गरिव परिवारलाई राहत वितरण गरिएको छ ।

यसैबीच, इविजा लायन्स क्लव ठमेल र फायर क्लवले पनि रात्रिकालिन व्यवसायमा आवद्ध श्रमिक महिलाहरुलाई राहत वितरण गरेको छ । डिस्को, डान्स र दोहोरीमा आवद्ध महिलालाई सरकारी राहतले नसमेटेकाले क्लवहरुले राहत वितरण गरेको अध्यक्ष दावाङ तामाङले बताए ।

यसअघि सुमी फर्मास्युटिकल्स प्रा.लि.ले पनि सर्वसाधारणको राहतका लागि नेपाल सरकारलाई एक करोड मूल्य बराबरको सेनिटाइजर प्रदान गरेको छ । कोरोना संक्रमण महामारी रोकथाम तथा नियन्त्रण कोषमा नगदका अतिरिक्त सेनिटाइजर प्रदान गरेको प्रा.लि.ले जनाएको छ ।

लकडाउन लम्बिएसँगै विशेष गरी ज्यालादारी खाने मजदुर वर्ग, भरिया, मगन्ते, वृद्धा आश्रम, बालगृहहरुमा खाद्य संकट देखिएको छ । त्यसका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि डोर–टु–डोर राहत वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी रोकथाम तथा नियन्त्रणका क्रममा घरभित्र नै बन्दी बनेका सर्वसाधारणले राहत वितरणलाई प्राथमिकता दिन आग्रह गरेका छन् । तर, काठमाडौं महानगरपालिकाले भने व्यवस्थित ढंगले राहत वितरणमा समस्या देखाएको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान प्रधानले काठमाडौंमा बस्ने सबै नागरिकलाई राहत वितरण सम्भव नभएको बताए । राहत लिन आउनेहरुको चापले कतिपय वडा कार्यालयहरुलाई वितरण गर्न समस्या परेको छ ।


प्रकाशित मितिः बिहीबार, वैशाख ४, २१:४३