ओखलढुंगाः जिल्ला समन्वय समिति ओखलढुंगामा रहेको १० करोड मूल्य बराबरको सरकारी सामान दुरुपयोग भएको पाइएको छ ।

समन्वय समितिमा रहेका तारजाली, जाली बुन्ने रोल–तार, खानेपानी पाइप, चार–पांग्रे तथा दुई–पांग्रे सवारीसाधन, फर्निचर, ल्यापटप, डेक्सटप कम्युटरलगायत विद्युतीय तथा निर्माण–सामग्री समितिले आफूखुसी व्यक्ति तथा संस्थालाई वितरण गरेको पाइएको हो ।

समितिका पदाधिकारीले ४६ हजार एक सय १० किलो जाली बुन्ने रोल–तार, १४ हजार सात सय ३१ थान तयारी जाली समितिले सीधै व्यक्ति तथा संस्थालाई अनियमित ढंगले वितरण गरेका हुन् । बजार भाउअनुसार रोल–तारको करिब ६४ लाख ५५ हजार र तयारी तार–जालीको मूल्य आठ करोड ३९ लाख ६६ हजार रुपैयाँ पर्छ ।


त्यसैगरी, समितिले १२ लाख रुपैयाँभन्दा बढी मूल्यको खानेपानीको पाइपसमेत समितिले विभिन्न व्यक्तिलाई वितरण गरेको छ । १६ देखी दुई सय एमएमसम्मको पाइप सीधै व्यक्तिलाई दिएको पाइएको छ । १६ एमएमको चार हजार पाँच सय, २० एमएमको पाँच हजार पाँच सय, २५ एमएमको तीन हजार नौ सय, ३२ एमएमको आठ सय, ४० एमएमको तीन हजार ६ सय, ५० एमएमको दुई सय, ६३ मिटरको तीन सय र दुई सय एमएमको ३४ मिटर पाइप तत्कालीन जिल्ला समन्वय अधिकारी नारायणप्रसाद मैनालीले सीधै वितरण गरेका हुन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।


प्रकाशित मितिः शनिबार, पुस २६, ०७:४८