हेटौंडा: नेपाली कांग्रेसका शीर्ष नेताहरुले कम्युनिष्ट सरकार भाषणमा मात्र अल्झिएको आरोप लगाउँदै जनवादी केन्द्रीयतातर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

हेटौंडामा आजदेखि सुरु भएको जिल्ला सभापतिहरुको भेलालाई उद्घाटन गर्दै कांग्रेस नेताहरुले अदालतमा राजनीतिक हस्तक्षेप बढाउँदै लैजानु, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नुजस्ता क्रियाकलापले ओली सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका हुन् ।

कार्यक्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन नसक्ने बताएका छन् ।

देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने भन्दै सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएको, गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गरेका छन् ।


। सरकार भाषणमा संघीयता र काममा कम्युनिस्टको जनवादी केन्द्रीयतातर्फ उन्मुख भएको भन्दै ओलीको राष्ट्रवाद पनि लम्पसारवादमा परिवर्तन भएको देउवाको आरोप छ ।

संविधानको संरक्षण गर्ने र देशलाई कम्युनिस्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी कांग्रेसकै काँधमा आएकोले कमजोर मानसिकता होइन, उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि वर्तमान सरकार अधिनायकवादतर्फ लम्केको संकेत देखिन लागेको आरोप लगाए । उनले सरकारले भोट नहालेकै शंकामा विकासमा पनि विभेद गरेको दाबी गरे ।

पार्टीमा एकताको गफ गरेरमात्रै नहुने भन्दै उनले तल्लो तहका कार्याकर्तालाई समेत न्याय दिलाउने गरी ऊर्जा दिनुपर्नेमा जोड दिए ।

उद्घाटन कार्यक्रमा बोल्दै महामन्त्री शशांक कोइरालाले गुट उपगुटले पार्टीलाई फाइदा नगर्ने बताएका छन् ।

कम्युनिस्टहरुमात्र हैन उत्तर कोरिया र अमेरकाजस्तो राष्ट्रसमेत मिलिसकेकाले कांग्रेसमा तिक्तता बोकेर बस्ने दिन गएको उनको धारणा थियो। सम्पूर्ण राष्ट्रको ध्यान हेटौंडामा कांग्रेस जिल्ला सभापतिहरुकोमा भएको उल्लेख गर्दै कोइरालाले कांग्रेस एक नम्बरमा आउनका लागि जिल्ला सभापतिहरुको दायित्व भएको बताएका छन् ।

कार्यक्रममा कांग्रेस उप सभापति बिमलेन्द्र निधिले अब पार्टीको १५ प्रतिशत मत बढाउनुपर्ने भएकोले प्रतिवद्ध भएर लाग्नुपर्ने बताए । उनले कांग्रेसलाई बलियो बनाउन उनले आरोप प्रत्योप, अवेश र रिसमा आउन नहुने बताए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी गुट उपगुट भए कमजोर हुने भएकोले सबैलाई मिल्न आह्वान गरेका छन्। उनले वामपन्थी एकता हुने देखिएपछि कांग्रेसलाई बलियो बनाउनुपर्छ भनेर आफू पार्टी नै लिएर कांग्रेसमा आएको दिन सम्झाउँदै गच्छदारले आफू पार्टीमा मेलका लागि विशेष भूमिका निभाउन सक्ने दाबीसमेत गरे।

तीन दिनसम्म चल्ने भेलामा ७७ ओटै जिल्लाका पार्टी सभापति र केन्द्रीय समिति सदस्यहरुको सहभागिता रहेको छ ।

भेलाको बन्दसत्र बुधबारदेखि सन्चालन हुनेछ ।