काठमाडौंः सरकार र विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने सहभागी थिए ।

दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ ।

वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा. भट्टराईले जानकारी दिए ।

वार्ता सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ।


। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।’

सरकारले हिजोमात्र गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति बनाएपछि विप्लवले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति घोषणा गरेका थिए । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलबार साँझ काठमाडौं आएको थियो ।

अर्को वार्ता कहिले हुने भन्नेबारे केही खुलाइएको छैन् ।


प्रकाशित मितिः २०७७ साल फागुन १९ गते बुधबार, ११:५४