काठमाडौंः फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा पोर्चुगल सर्बियासँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा पोर्चुगल सर्बियासँग २–२ को बराबरीमा रोकिएको हो ।

खेलको ११ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–० को अग्रता दिलाए । तर, ४६ औं मिनेटमा एलेक्सजान्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई २–१ को स्थितिमा ल्याए । त्यसपछि ६० औं मिनेटमा घरेलु टोली सर्बियाका फिलिप कोस्टिकले गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो ।

खेलको इन्जुरी समयमा निकोला मिलेन्कोभिचले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो ।


बराबरीसँगै सर्बियाले २ खेलमा ४ अंक जोडेको छ । समूह ए को सर्बिया शीर्ष स्थानमा रहेको छ ।

पोर्चुगल २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान ४ अंक भए पनि गोल अन्तरका आधारमा पोर्चुगल दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा लक्जमवर्गले रिपब्लिक अफ आयरल्याण्डलाई १–० ले पराजित गरेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १५ गते आइतबार, ०७:१३