काठमाडौंः सर्लाही र झापाबाट अवैध लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–८ बाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित सोही नगरपालिका–१४ बस्ने १९ वर्षीय बिसराम गोलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले ना २२प ९०१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा बोराभित्र लुकाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी चालक गोलेलाई पक्राउ गरेको हो ।

झापाको गौरादह नगरपालिका–९ बैगुनधुरास्थित सडकबाट १ सय ५८ बोतल ईस्कफ नामक लागूऔषध सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा सोही नगरपालिका–३ बस्नेहरु २७ वर्षीय प्रमानन्द राजबंशी र २२ वर्षीय राजेश महतो रहेका छन् ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी महाभारा र सशस्त्र प्रहरी बल बैगुनधुराको संयुक्त टोलीले जाँच गर्नेक्रममा बिआर ३८ स ५६३० नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त परिमाण लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः आइतबार, असोज ४, २०७७, १८:५८