काठमाडौंः लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई आज रिहा गरेको हो ।

शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै आज न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो ।

शाहीलाई ललितपुरबाट पक्राउ गरी गैरकानूनी रुपमा हिरासतमा लिइएको भन्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा वैशाख १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई पक्राउ गर्नुको कारण माग गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।


शाहीलाई थुनामै राखेर नै मुद्दा अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको सर्वोच्चले बताएको छ ।


प्रकाशित मितिः मंगलबार, वैशाख १६, २१:०७