काठमाडौंः संसद विघटन सम्वन्धि परेका रिट माथी सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

आज संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश जारी गरेको हो ।

सर्वोच्चले संसद विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्न पनि आदेशमा भनेको छ ।

आजको संवैधानिक इजलासमा प्रधानन्यायाधिशसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी थिए ।


यस्तै, यो विवादको निरुपणका लागि सर्वोच्च बारबाट एमिकस क्युरी झिकाउने पनि निर्णय भएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, १६:०८