काठमाडौंः सवारी ज्यान मुद्दाका फरार अभियुक्त भक्तपुर कौशलटार बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–७ घर भएका ४५ वर्षीय हरि बहादुर श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सिन्धुपाल्चोकको २०६१ पुस १३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ७ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२३ सुविधानगर तिनकुनेबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुपाल्चोक पठाइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।



प्रकाशित मितिः २०७७ साल कार्तिक १७ सोमबार, १९:४५