काठमाडौंः सवारी साधनहरु सवारी पास दुरुपयोग गरी यात्रुहरु ओसारपसार गर्ने दुई जना सवारी चालकहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख २२८५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका–२ घर भएका ३७ वर्षीय सूर्य किरण कर्माचार्य र कैलालीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १३४० नम्बरको बसका चालक कैलाली गोदावरी नगरपालिका–१ घर भएका ३१ वर्षीय लोक बहादुर खत्री रहेका छन् ।

पक्राउ परेका चालकमध्ये कर्माचार्यले भारतबाट आएका नेपालीहरुलाई विभिन्न जिल्लामा पुर्‍याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बोकी नेपाल–भारत रुपेडिया नाकाबाट ३ जना यात्रुहरु तथा नेपालगञ्जबाट ४ जना यात्रु गरी ७ जना यात्रुहरु लिई आएको तथा यात्रुबाट २१ हजार रुपैयाँ असुल गरेको र खत्रीले उद्योग, बाणिज्य तथा आपुर्ति विकास मन्त्रालय काठमाडौंबाट कृषि तथा पशुपन्क्षीजन्य कार्य गर्न जारी भएको पास बोकी कैलालीबाट १२ जना यात्रुहरुबाट १८ हजार रुपैयाँ भाडा असुल गरि लिई आएको अनुसन्धानको क्रममा खुल्न आएको हो ।


उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।


प्रकाशित मितिः मंगलबार, असार ९, २०७७, २१:५७