काठमाडौंः कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लाीग लागू भएको लकडाउनको अवधिमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग पनि गरेको पाइएको छ ।

लकडाउन अवधिमामा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाई गर्न लागेको हो ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायवधिका लागि भनी तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकाले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच र कारबाही गर्ने महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए ।


उनले भने, ‘अत्यावश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरी अवस्था हेर्न, पास छ भनेर शान देखाउँदै हिड्न समेत त्यस्ता सवारी साधनहरु गुडेको भेटिएका छन, अब त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निग्रानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही गरिने छ ।’

हालसम्म लकडाउन उल्लंघन गर्ने ८ हजार ९७४ सवारी साधन होल्ड तथा १ हजार ८४६ वटा पासको दुरुपयोग गरि गुडेका सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसै गरी लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।

उनले भने, ‘अनावश्यक हिड्डुल गर्न र पासको दुरुपयोग समेत रोक्नका लागि सिभिल प्रहरी खटाउनुको साथै सिसिटिभीबाट समेत निग्रानी गरिनेछ ।’


प्रकाशित मितिः बुधबार, वैशाख ३, १७:०१