काठमाण्डौः अवैध रुपले काठ ओसार्ने कार्यमा सम्लग्न सशस्त्र प्रहरीले एक डिएसपीसहित ४ जनालाई निलम्बन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीसहित ४ जनालाई निलम्बन गरिएको प्रवक्ता डिआइजी बाबुराम पाण्डेले जानकारी दिए।

सशस्त्र प्रहरीकै गाडीमा काठ राखेर लगेको अभियोग लागेका भण्डारीसहित ४ जना प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई तथा सो गाडीका चालक दिपेन्द्र कुमार कर्माकारलाई समेत निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु भएको उनले बताए।

उनीहरुले यही जेठ २१ गते सो गुल्मको बा १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटा जिल्लाको मूलघाट भन्ने ठाउँमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मूलघाट धनकुटाको एपीएफ टोलीले नियन्त्रणमा लिएको थियो ।


सशस्त्र प्रहरीले घटनाको छानविन गर्न मुख्यालयबाटै डिआईजी सुरज श्रेष्ठको अध्यक्षतामा छानविन समिति बनाएको थियो ।
समितिले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११६ को उपनियम १ को खण्ड ख र घ अनुसार निलम्वनको प्रक्रिया सुरु गरेको हो ।