काठमाडौंः हिन्दू नेपालीको महानपर्व दशैंमा सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले सशस्त्र प्रहरीले राजधानीका विभिन्न रुटमा बस सञ्चालन गर्ने निर्णय गरेको छ ।

राजधानीमा दशैंका बेला सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सर्वसाधारण यात्रुको सुविधालाई मध्यनगर राख्दै बस सञ्चालन गर्न लागिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेनाले दशैंको टीकाको दिनमात्र निःशुल्क बस चलाउने भए पनि सशस्त्र प्रहरीले भने तीन दिन निःशुल्क सेवा दिने छ ।

सशस्त्र प्रहरीले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ८ बजेदेखि बेलुका ६ः०० बजे सम्म चल्ने जनाइएको छ ।


एउटा बस सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट यात्रुको सेवामा निस्कने छ । सो बसले ठूलो भर्‍याङ, बनस्थली, बालाजु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ ।

दोस्रो बस पनि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाटै निस्कने छ र त्यसले सितापाइला, कलंकी, बल्खु हुँदै विभिन्न ठाउँका यात्रुहरुलाई सेवा प्रदान गर्ने छ ।

बसमा यात्रा गर्नेहरुले भाडा तिर्नु नपर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

फाइल तस्विर


प्रकाशित मितिः शनिबार, असोज १८, १०:३८