काठमाडौंः सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका ५ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरका छन् ।

सोही विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका १५ जना अधिकृतहरुलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

गृह मन्त्रिस्तरको बुधबारको निर्णयले ५ जना अधिकृतहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएको हो भने गृह सचिवस्तरको सोमबारको निर्णयले १६ जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुन् ।


समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै उनीहरुले राज्य र संगठनलाई पुर्‍याएको योगदानको साथै व्यावसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे ।

उनले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न
पूर्णव्यावसायिक भई अनुशासित एवं जिम्मेवारी बोधका साथ कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ
राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुपर्ने उल्लेख गर्दै राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संकारमा
रहेर आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै आम नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए ।


प्रकाशित मितिः २०७७ साल माघ १६ गते शुक्रबार, ०८:४०