काठमाडौंः सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आजबाट ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ खेलकुद प्रतियोगिता सुरु भएको छ ।

आज सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले भलिबलका अन्तर्राष्ट्रिय रेफ्री सशस्त्र प्रहरी निरीक्षक विजयकुमार के.सी.लाई खेलकुद सामाग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको सुभारम्भ गरेका हुन् ।

प्रतियोगिता यही पौष ७ गतेसम्म नेपाल एपीएफ रंगशाला र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन हुनेछ ।

फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’मा १८ जना महिलासहित कूल २ सय ७० जना खेलाडीहरुको सहभागिता रहेको छ ।


उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुका एक–एक टिम गरी कूल नौ वटा टिमको सहभागिता रहेको छ ।

सो प्रतियोगिताको आज भएको एथलेटिक्स ८ सय मिटर पुरुषतर्फको दौडमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी जवान मंगल थारु प्रथम भएका छन् भने महिला १५ सय मिटर दौडमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थकी सशस्त्र प्रहरी जवान आशा रावत प्रथम भएकी छन् ।


प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १९:२७