झापा: दूध बिक्न छाडेपछि झापा गाउँपालिकास्थित शरणामतीका सयौँ किसानले बाटोमै दुधको खोला बगाएका छन् । लाखौँ रुपैयाँ ऋण लिएर पशुपालन गरी दूध उत्पादन गर्न थालेका उनीहरु दूधले बजार नपाएपछि समस्यामा परेका छन्  ।

झापामा परिचित नेपाल बहुद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित एनएमसी डेरी उद्योगले यहाँका किसानद्वारा उत्पादित दूध खरिद गर्दै आएको थियो । दूध उत्पादन गर्न भन्दै गाई–भैँसी खरिदका लागि सहकारीले शरणामतीका किसानलाई ऋणसमेत उपलब्ध गराएको थियो । तर, अहिले सोही सहकारीद्वारा सञ्चालित डेरी उद्योगले दूध खरिद गर्न छाडेपछि किसानले सडकमै दूध पोखेका छन् ।


‘सहकारीले ऋण दिएर गाई किनायो, गोठ बनाउन लगायो, घाँसको बीउ किन्न लगायो, हामीले एक–एक बिघा घाँस छर्यौँ,’ किसानहरु भन्छन्, ‘अहिले दूध नै बिक्दैन, अब गाई धेरै भए, के गर्नु हामी ?’