बाजुराः साँफे-मार्तडी राजमार्ग पहिरोले अवरुद्ध भएको छ ।

मंगलबार राती बूढीगंगा नगरपालिका-१ अम्कोटको द्वारीमा आएको पहिरोले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सडकको माथिपट्टिबाट ठूलो ढुंगा आएर बीच सडकमा अड्किएपछि बाटो अवरुद्ध भएको हो । जेसिवी प्रयोग गरेर बाटो खोल्न खोज्दा सम्भव नभएपछि स्काभेटर नै प्रयोग गर्नुपर्ने भएको प्रहरले जनाएको छ ।

सडक बन्द भएपछि लामो र छोटो दूरीका यातायातका साधन द्वारीमा रोकिएका छन् । सडक खोल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।