काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सुरु गरेको सांगीतिक डमी अभियानलाई प्रभावकारी बनाउन महाशाखाले यूट्यूव भिडियो पनि निर्माण गरेको छ ।

भिडियोमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, रेखा थापा, मनोज गजुरेल, दिपाश्री निरौला, जितु नेपाल, मोडल मोनिका बुढाथोकी, सामाजिक अभियान्ताहरु योङजोम शेर्पा र राधा पोख्रेलले आवाज दिएका छन् भने सरोज वलीको
‘रातोमा वत्तीमा रोकिने’ बोलको गीत समेत समावेश गरिएको छ ।

भिडियो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालको परिकल्पना तथा स्लोगान शब्द गायक सरोज वली र डिएसपी जयशंकर शर्माको रहेको छ ।


भिडियो मेट्रो ट्राफिक एफ.एम ९५.५ मेघाहर्जको यूट्यूव च्यानल https://youtu.be/RmfawCXBoqE मा हेर्न सकिन्छ ।

आम नागरिक, पैदलयात्री, चालकवर्ग लगायत आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाई सडक सभ्यता अभिबृद्धि गर्न उक्त भिडियो निर्माण गरिएको महाशाखाले जनाएको छ ।

त्यस्तै, महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सुरु गरेको सांगीतिक डमी अभियान प्रभावकारी बन्दै गएको छ । अभियान सुरु भएको एक हप्तामै १२ हजार ५३१ जना सांगीतिक डमीको जनचेतनाबाट लाभान्वित भएका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २९ शनिबार, १९:५४