काठमाडौंः संघीय संसदका दुवै सदनले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

दिउँसो १ बजे बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित गरेको हो ।

२०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज बिहान निधन भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

यस्तै, राष्ट्रियसभाको आजको बैठकले पनि प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।


बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी असार २२ गते १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


प्रकाशित मितिः बुधबार, असार १७, २०७७, १५:०२