काठमाडौंः जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

आज पुल्चोकस्थित आयोग कार्यालय पुगेर सांसद डा. यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका हुन् ।

डा. यादवले आयोगका सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् । उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए ।

महोत्तरीस्थित घरमै रहेका डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए ।


त्यसपछि साँझ मेरियट होटलमा बास बसेका डा‍. यादवले भोलिपल्टदेखि आफूलाई अपहरण शैलीमा काठमाडौं ल्याएको बताउँदै आएका छन् ।

अपहरण गरी बन्धक बनाइ काठमाडौं ल्याएको भन्दै उनले यसअघि महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता भएको थिएन ।


प्रकाशित मितिः बिहीबार, वैशाख १८, १५:२९