रियादः साउदीका महिलाले आफै सवारी साधन चलाउन पाउने भएका छन् ।

उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादका समाचारहरुले उल्लेख गरेका छन् ।

लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश दिएका हुन् । महिलाले पनि सवारी साधन आफै हाँक्न पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुनेगरी आदेश दिइएको थियो ।

महिलालाई पनि गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै महिला तथा अधिकारवादी संस्थाहरुले लामो समयदेखि अभियान चलाउँदै आएका थिए । विश्वमा साउदी अरेबिया मात्र एक मुलुक हो जहाँ महिलाले गाडी चलाउने अनुमति पाएका थिएनन् ।


साउदीको विद्यमान कानून अनुसार त्यहाँ पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए । सो कानूनमा संशोधन गरी राजाले नै आदेश दिएपछि महिलाले यो अधिकार प्राप्त गरेका हुन् ।

यसअघि पनि लुकिछिपी महिलाले गाडी चलाउने गरेको भए पनि सरकारी नीतिको अवज्ञा गरेको आरोपमा महिलाहरुमाथि कडा जरिवाना गरिन्थ्यो । कतिपयले जेल सजायँ नै भोग्नुपरेको पनि बताइएको थियो ।