काठमाडौंः सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले अहिलेकै मोडलको लकडाउनलाई साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशमा लकडाउन गर्ने घोषणा गरेको थियो । सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियो ।

कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले बताए ।


यद्यपी निश्चित ठाउँको जोखिम अनुसार स्थानीय र प्रदेश सरकारले नै लकडाउन खुकुलो र कडा पार्न सक्नेगरी निर्णय भएको छ ।


प्रकाशित मितिः सोमबार, असार १५, २०७७, २२:०२