काठमाडौंः भुटानमा जारी तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपको फाइनल खेल खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

शुक्रबार भएको खेलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरे पछि फाइनल खेल खेल्ने सपना चकनाचुर भएको हो ।

यस्तै, समुह चरण अर्काे खेलमा भारतले भुटानलाई पराजित गरेसँगै नेपाल उपाधि होडबाट बाहिरिएको हो ।

बंगलादेशलाई जित दिलाउन शाहिदा अख्तर र शामसुन्नहरले एक एक गोल गरिन् । नेपालकी अमिषा कार्कीले एक गोल फर्काईन् ।

खेलको १२ औं मिनेटमा शाहिदा अख्तर रिपाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । २५ औं मिनेटमा कप्तान शामसुन्नहरले पेनाल्टीमा गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन् ।


। ६४ औं मिनेटमा नेपालकी अमिषाले गोल गर्दै अग्रता २–१ मा झारेकी थिइन् । तर त्यसपछि नेपालले थप गोल गर्न नसके पछि पराजित हुन पुग्यो ।

शुक्रबार भएको दोस्रो खेलमा भारतले भुटानलाई १०–१ ले पराजित गरेको छ ।

बंगलादेश र भारतले दुवै खेल जिते । नेपाल र भुटानले लगातार दुई खेल हारे ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगिताअन्तर्गत अब आइतबार भारत र बंगलादेश तथा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै उपाधिका लागि भारत र बंगलादेशबीच मंगलबार प्रतिस्पर्धा हुनेछ ।

बंगलादेश पहिलो संस्करणको विजेता हो भने भारत दोस्रो संस्करणको उपाधि विजेता हो ।


प्रकाशित मितिः शनिबार, असोज २५, ०६:३९