काठमाडौंः सामाजिक संजाल वाट्सएप र फेसबुकको माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले सोमबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर बस्ने रुकुम पूर्व भुमे गाउँपालिका–३ मोरवाङ घर भएका २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठ रहेको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

उनीहरुले फेसबुक र वाट्सएपमा फेक आइडि मार्फत सम्पर्क गरी नेदरल्याण्डको नागरिक बताई पीडितहरुलाई बिभिन्न बहानामा नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामानहरु पठाई दिने भनी प्रलोभनमा पारी दिपक किशोर श्रेष्ठ, सन्तोष श्रेष्ठ समेतको बैंक खातामा र आइएमई समेतबाट नगद ४१ लाख ९८ हजार ४ सय ५० रुपैयाँ पठाउन लगाई ठगी गरेको घटनाको अनुसन्धानको क्रममा महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।


उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक कार्कीले बताए ।


प्रकाशित मितिः २०७७ साल पुस १४ गते मंगलबार, २०:१३