काठमाडौंः सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी प्रदेश स्तरीय तीन दिने प्रशिक्षण कैलालीको टीकापुरमा आजदेखि सुरु भएको छ ।

मानवीय गतिविधिहरुलाई अझै प्रभावकारी बनाउनका साथै सामुदायिक संलग्नता तथा जवाफदेहितालाई संस्थागत गर्न मुलुकका सबै प्रदेश र जिल्लाहरुका रेडक्रसका निकायहरुलाई सचेतना अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले प्रशिक्षण आयोजना गरेको हो ।

आजै बिहान कार्यक्रमको शुभारम्भ गर्दै नेपाल रेडक्रस सोसाइटीका निर्देशक दिव्यराज पौडेलले भने, ‘संकटासन्नता वा विपदमा परेका मानिसहरुलाई सहयोगको योजना तर्जुमा तथा सेवा गतिविधिहरुको कार्यान्वयन गर्दा समुदायका मानिसहरूलाई संलग्न गराउने, उनीहरुको आवाज, सवाल र पृष्ठपोषणप्रति संवेदनशील भई कार्यक्रमलाई अनुकुलित बनाउदै लैजाने तर्फ रेडक्रस संवेदनशील छ ।


।’

रेडक्रसका गतिविधिमा समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न र उनीहरुप्रतिको जवाफदेहितालाई सुदृढ गर्न अवलम्बन गरिने रणनीति र न्यूनतम गतिविधिहरुबारे जानकारी गराउन प्रशिक्षणले सहयोग पुर्‍याउने निर्देशक पौडेलले अपेक्षा गरे ।

फरक–फरक लक्षित समूहहरूका लागि फरक–फरक तरीकाले कार्यक्रम र गतिविधिमा संलग्नता गराउने विधिहरुमा अभ्यास र छलफल गरिने कार्यक्रम रहेको उनले जानकारी दिए ।

प्रशिक्षणमा नेपाल रेडक्रसका कर्णाली र सुदुरपश्चिम प्रदेश समितिहरु र दुवै प्रदेशभित्र रहेका १९ वटै जिल्ला रेडक्रसका प्रतिनिधिहरु र केन्द्रीय कार्यालयका गरी २४ जना सहभागि छन् । यस अघि प्रदेश नं २ र ३ को धुलिखेलमा तथा गण्डकी र प्रदेश ५ को कास्कीमा यस्तै खालको प्रशिक्षण गरिसकिएको छ । प्रशिक्षणमा बेलायती रेडक्रसको आर्थिक सहयोग रहेको छ ।


प्रकाशित मितिः आइतबार, मंसिर १, ११:५३