काठमाडौंः दक्षिण एशिया क्षेत्रीय स्तरको विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सार्क क्षेत्रका सदस्य राष्ट्रहरुका प्रतिनिधिहरु, रेडक्रसका प्रतिनिधिहरु तथा संयुक्त राष्ट्रसंघीय र साझेदार निकायहरुबीच तीन दिने पूर्वतयारी छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रममा विपद्का दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा रहेको दक्षिण एशियामा मौसम परिवर्तन र तापमान बृद्धिको कारणले मानिसहरु अझ समस्यामा पर्नसक्ने भएकोले सार्क क्षेत्रमा द्रुत प्रतिकार्य सम्बन्धी ठोस कार्य गर्नुपर्ने आवश्यकता औैँल्याइएको छ ।

प्राकृतिक विपद्को समयमा सार्क क्षेत्रमा द्रुत प्रतिकार्य सम्बन्धी सार्क सदस्य राष्ट्रहरुबीचको सम्झौता SAARC Agreement on Rapid Response to Natural Disasters  को कार्यान्वयनलाई प्रभावकारी बनाउन सहयोग गर्न सार्क सचिवालय र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको संयूक्त आयोजनामा सोे कार्यक्रम आयोजना गरिएको हो ।


यस अघि कार्यक्रमको सुभारम्भ गर्दै नेपाल सरकारको तर्फबाट राष्टिय पुननिर्माण प्राधिकरणका प्रमुख शुशिल ज्ञवालीले आवास तथा पूर्वाधार निर्माणमा नयाँ प्रविधि अपनाउने र स्थानीय वासिन्दा तथा स्थानीय तहले नै विपद् व्यवस्थापनको जिम्मेवारीलिने अवस्थामा नेपाल अगाडि बढिरहेको बताए ।

विपद पूर्वतयारी र अल्पिकरणमा सार्क सचिवालयले रेडक्रसको महासंघसँग मिलेर कार्यगर्ने बताउँदै सार्कका महासचिव  अम्जाद हुसेन वि सियलले सार्क क्षेत्रीय स्तरमा विपद्ले पार्ने प्रभावको अध्ययन भैसकेको र सबै सदस्य देशहरुबीच वातावरण संरक्षण तथा विपद व्यवस्थापनको क्षेत्रमा स्रोतको सहभागिता गर्दै पृथ्वीलाई राम्रो बनाउने सहमति गरिएको जानकारी दिए ।

बढ्दो शहरीकरणका बीच पानीको नजीक रहेका दक्षिण एशियाका मुख्य शहरहरु जलवायु परिवर्तनको कारण बढी जोखिममा रहेको बताउँदै रेडक्रसका अन्तराष्ट्रिय महासंघका निर्देशक  जेभिएर कास्टेलानोजले विकाससँग विपद पनि जोडिएकाले बाटो, बन्दरगाह, पुल लगायतका भौतिक पूर्वाधारहरु राम्रो बनाउन सके विपदको समयमा सहयोग गर्न सघाऊ पुग्ने धारणा व्यक्त गरे ।

युएन ओचा एशिया प्रशान्त क्षेत्रीय कार्यालयका प्रमुख अमी मार्टिनले समुदायलाई केन्द्रमा राखी विकास प्रकृयाहरु अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकारी प्रतिनिधिहरु र ती देशका  रेडक्रस रेडक्रिसेन्टका प्रतिनिधिहरु र सार्क सचिवालय, सार्क खाद्य बैक, युएन ओचा, विश्व खाद्य कार्यक्रम, एडिपिसी, युनिसेफ नेपाल, आइसीआरसी नयाँदिल्ली क्षेत्रीय कार्यालय र स्वीस रेडक्रसका प्रतिनिधिहरुले नोभेम्बर ४ देखि ६ सम्म छलफल गरेका थिए भने भारत समेतका सबै देशका  रेडक्रस रेडक्रिसेन्टका प्रतिनिधिहरुले शुक्रबारसम्म सहयोगी भूमिकासम्बन्धमा पुरक छलफल गरेका थिए ।

बैठकले प्राकृतिक विपद्को समयमा सार्क क्षेत्रमा द्रुत प्रतिकार्य सम्बन्धी सार्क सदस्य राष्ट्रहरुबीचको सम्झौता  SAARC Agreement on Rapid Response to Natural Disasters को कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सबै सदस्य देशहरुमा कानुनी  र नीतिगत तयारी गर्न, एक आपसको सिकाईलाई थप ध्यान दिन  तथा सुचना, सञ्चार र चेतना बढाउन आव्हान गरेको छ ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ०८:२३