काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकाल तथा अनुगमन समितिका पदाधिकारीहरुले आज सार्वजनिक यातायातहरुमा छड्के अनुगमन गरेका छन् ।

टोलीले सुन्धारामा भाडाका २३ वटा सार्वजनिक सवारी साधनहरुमा अनुगमन गरेको ट्राफिक महाशाखाले जनाएको छ ।

अनुगमनका क्रममा भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमिकमजोरीहरुलाई सच्याउनको लागि चालकलाई प्रतिबद्धता पत्र समेत प्रदान गरिएको एसएसपी ढकालले जानकारी दिए ।

सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउनका लागि सवारी चालकको महत्वपुर्ण भूमिका रहने भएकोले चालकहरुले पालना गर्नेपर्ने ट्राफिक नियम तथा यात्रुहरु प्रति सेवाभावका साथ आफुलाई बदल्न समेत यस अभियानले महत्वपुर्ण भुमिका खेल्न बिश्वास गरिएको उनले बताए ।


सवारी दुर्घटना न्युनिकरण र सहज ट्राफिक व्यबस्थापनका लागी चालकहरु व्यबसायिक, अनुशासित र दक्षताका साथ आफुलाई उदाहरणीय बनाउदै चालकहरु प्रतिको बिश्वासमा बृद्धि गर्न समेत चालकहरुलाई अनुरोध गरिएको छ ।

महाशाखामा नागरिकहरुले गरेका गुनासोहरुको समेत विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरु, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा संचालित यात्रुवाहक सार्वजनिक सवारी साधनसँग सम्बन्धित विभिन्न कम्पनी/प्रा.लि. का प्रतिनिधिहरुको उपस्थितिमा पुस २० गते व्यापक छलफल गरिएको थियो । उक्त छलफलबाट १९ बुँदे प्रतिबद्वता निर्णय भएको र उक्त निर्णयहरु कार्यान्वयन गर्न आजबाट अनुगमन सुरु गरिएको एसएसपी ढकालले बताए ।


प्रकाशित मितिः शुक्रबार, पुस २५, १४:३६