काठमाडौंः साविक विजेता इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

एनफिल्डमा बुधबार राति प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग ३–२ ले पराजित हुँदै लिभरपुल प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

लिभरपुल समग्रमा ४–२ ले पराजित भएको हो । यस अघि पहिलो लेगमा पनि लिभरपुल एट्लेटिकोसँग १–० ले पराजित भएको थियो ।

बुधबार भएको दोस्रो लेगमा एट्लेटिकोका लागि मार्कस लोरेन्टेले दुई तथा अल्भेरो मोराटाले एक गोल गरे । लिभरपुलका लागि जर्जियानो विज्नाल्डम र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे ।


खेलको ४३ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै घरेलु टोली लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० मिनेट समग्रमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको चौंथो मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए । तर, ९७ औं मिनेटमा एट्लेटिकोका लोरेन्टेले गोल गर्दै खेल २–१ मा ल्याए । १०५ औं मिनेटमा लोरेन्टेले व्यक्तिगत दोस्रो गोल गर्दा एट्लेटिकोले खेल २–२ को बराबरीका ल्याएका थिए । त्यसपछि खेलको अन्तिम समयमा मोराटाले गोल गर्दै एट्लेटिकोलाई ३–२ को जित दिलाए ।


प्रकाशित मितिः बिहीबार, फागुन २९, ०८:१२