भक्तपुरः सूर्यविनायक नगरपालिका–८ सिपाडोलको झ्यालीपाटीबाट बस्नेत टोल–भट्टराई टोल हुँदै डोलेश्वर जाने चख्खु खोला पुल निर्माण कार्यको सिलान्यास भएको छ ।

नेपाल सरकारको स्थानीय स्तरको सडक पुल अन्तर्गत ७३ लाख ४० हजारको लागतमा निर्माण पुलको पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सिलान्यास गरेका हुन् ।

सिलान्यास कार्यक्रममा बोल्दै उनले अघिल्लो वर्ष र यो वर्ष गरी २९ वटा पुलहरु निर्माण भइरहेको र अब करिव ८÷१० वटा माग रहेकोले आगामी वर्ष ति सबै आवश्यक पुलहरुको निर्माण सम्पन्न गरी त्यसपछि भक्तपुरका साविकका सडकहरुमा पुल आवश्यक छैन भन्ने अवस्था सिर्जना हुने बताए ।


जनताको माझ गरेका चुनावी प्रतिवद्धताभन्दा बढी कामहरु भइरहेको उल्लेख गर्दै उनले खेलकुद, खानेपानीलगायतका जनताका अति आवश्यक मागहरु तीन वर्षमा पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले जनताको मत तथा सहयोगले नै नगरपालिकाको विकास र समृद्धि हासिल भएको उल्लेख गर्दै क्यालेण्डर बनाएर नै जनताको विकास प्रतिको चाहना पुरा गर्ने प्रतिवद्धता जनाए ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाले डोलेश्वर जाने बैकल्पीक मार्गको रुपमा रहेको उक्त पुल निर्माणसँगै आन्तरिक तथा वाह्य पर्यटकलाई सवारी आवागमनमा हुने समस्या समाधान हुने विश्वास व्यक्त गरे ।


प्रकाशित मितिः बिहीबार, फागुन २२, ०६:३७