भक्तपुरः सिपाडोल क्षेत्र परोपकार समाजले ब्यवस्थापन गरेको पैदल यात्रीहरु हिडेर गन्तव्य तिर जाने मजदुरहरुलाई समन्यव गरि जगाती प्रहरी चेकपोस्ट अगाडी खाना र घर फर्किनेका लागि गाडी व्यवस्थापन सुरु गरेको छ ।

समाजले मजदुरहरुलाई निःशुल्क खाना खुवाउने, स्वास्थ्य परिक्षण गर्ने तथा टेन्ट हालेर विश्राम स्थलको निर्माण गरि आराम गर्ने र गाडीको समेत व्यवस्थापन गरेको हो । यसैगरी विपन्न व्यक्तिहरुलाई समेत निःशुल्क खाना खुवाइएको छ ।

समाजले उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगातीले समन्यवमा आफनो गन्तव्य तर्फ जान चाहनेहरुका लागि गाडीको व्यवस्थापन गरी गन्तव्यतिर लैजाने गरिएको समाजका सचिव बोजबहादुर थापाले जानकारी दिए ।


शनिबारदेखि सुरु भएको यो अभियानमा अहिलेसम्म करिब ४ सय जनालाई आ–अफनो गन्तव्य तर्फ पठाइएको उनले बताए । उनका अनुसार शनिबार ११३ जना र आइतबार ३०० जनालाई आ–आफनो गन्तव्य तर्फ पठाइएको छ । यसैगरी शनिबार करिब १५० जनालाई र आइतबार करिब ५०० जनालाई खाना खुवाइएको समेत उनले जानकारी दिए ।

यो अभियान वैशाख १० गतेसम्म रहने छ । समाजले ब्यव्स्थापन गरेको यो अभियानलाई सहयोग गर्नेहरु पनि आइरहेका छन् ।

यसैगरी, भक्तपुरको जगातीमा आइतबार उर्जामन्त्री वर्षमान पुन, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख सबिन प्रधानसमेत मिलेर रोल्पा, सल्यान र दाङ हिँडेका करिब ४ सय जनालाई बस चढाएर घर पठाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार विभिन्न जिल्लाबाट हिँडेर भक्तपुरसम्म आएका र जिल्लाभित्र अलपत्र परेकाहरुलाई बसमा चढाएर दाङ र रोल्पातिर पठाइएको हो ।




तस्विरः फेसबुकबाट