सिर्फुल खसेको रात (कथा)







“प्लिज मलाई अब भुल्नु है सर” फेसबुकमा २०७५ वैसाख १९ गते राति ११ बजे उसको म्यासेज आएको थियो । रातदिन कुरा गरिरहने उसले अनायासै मलाइ यस्तो म्यासेज पठाएकी थिई । उसको यो निर्णयले मलाई धेरै सोच्न बाध्य बनायो । प्रेम वियोगको घडिमा तातो झोकमा तत्काल उत्तर दिए । “तिम्रो खुशी नै मेरो खुशी ल तिम्रो इच्छा ।” ऊ अफलाइन भई । म नि तत्काल अफ भएँ । तर मलाई भने पटक्कै निद्रा लागेन ।

बिहान कोठामा ढकढक गर्दै घरवेटीले पानीको स्वीच अफ गर्न भनेपछि बल्ल उठेँ । आज दिनभर उसको यादले छचल्काइरहेको छ। मैले आफैलाई पापी भनेको छु । उसको बिहे भएको कुरा नी थाहा छ । मेरो नि विहे भएको छ । तैपनि किन किन भुपुमायामा


अडिएको छु ।

करिब करिब १२ वर्षको हाम्रो ल्याडलाइन फोन, मोवाइल, फेसबुकको सम्बन्ध वैसाख १९ गतेबाट करिब अन्त्य भएको छ। तर मुखले अन्त्य गरेपनि मनले भने विर्सनै चाहेको छैन । उसको वियोगी कुरालाई सहर्ष स्वीकार गरे पनि मनले भने मानेकै छैन । करिव १२ वर्षको सम्बन्ध १२ अक्षरले नै विदाइ गरेको थियो । “प्लिज मलाई अव भुल्नु है सर ” बाट ।

फेसबुकको म्यासेन्जरमा उसले पठाएका अनेकौं सम्बन्धका आयामहरु डियरबाट आरम्भ भएर सर मा पुगेर अन्त्य भएका थिए । उसको नि बाध्यता होला । बिहे गरेर छोराछोरी जन्माएकी ति भुपुमायाले अब मलाई सम्झन उफ् नैतिकताले मानेन होला । मैले पनि उसको विवशता लाई वुझेको अनि बिर्सेको नाटक गरें तर मनले भुल्न सकेको छैन । उसले मेरो इज्जतका निम्ति दिएका बुद्धि,बल,पैसा,रगत र पसिनाको गन्धले मलाई सधैभरि सम्झाईरहनेछ ।

हाम्रो प्रेम सजीव भएको दिन सायद माघमा थियो । गाउँमा माओबादी द्वन्द्वका बेला हेलीकप्टर आएर बसेको बेला दुई तर्फ चुल्ठो बाटेर आएकी उसलाई मैले पहिलो पल्ट चौरमा भेटेको थिएँ । टाउकोमा लगाउने काँटा “सिरफूल” खसेर खोज्न हिँडेको भन्दै रुँदै निउरिएर हिँडेकी उससित मैले पहिलोपटक बोलेको थिएँ । उसको रुवाई देख्दा लाग्थ्यो कि उसले अत्यन्त बहुमूल्य सामान हराएकी छ ।

२०६१ सालको दशैमा चौरमा हालेको पिङ खेल्न आएकी ऊ र मेरो भेट चौरमा भएको थियो । भर्खर कक्षा ८ मा पढ्दै गरेकी ऊ र एसएलसी दिएर शहरमा पढ्न बसेको मैले उसलाई जिस्काउने मन चोर्ने सामान्य बहाना निकालेको थिएँ । मैले जिस्काउँदा अरु साथिहरुले भन्थे “किन यस्ति कालीलाई जिस्काको राम्री नि पाइएला नि” तर मैले बेल र नरिवलको उदाहरण दिएर सम्झाएथेँ ।

२०६२ को कुलपूजामा घर आएको बेला धेरै रमाइलो नि भयो । नजिकैको पसलमा ऊ अचानक भेटिई लाजले निहुरिइ । अघिल्लो सालमा भेट्दा सम्म सर्ट र फ्रकमा भेटिएकी उसको काँधमा पछेउरी थपिएको थियो । उसको लाज र पछ्यौरीले गर्दा उसको जवानीको क्रमशः बृद्धि भएको भान हुन्थ्यो । सामान्य सन्चो विसन्चोपछि उसले शहरमा पढ्न कैले जाने भनेर सोधी । पर्सि जान्छु भनेपछि दुइटा एफएमका चिठी लगिदिनु है उसले भनि । मैले हुन्छ भने । अर्को दिन चारबजेतिर भेट हुँदा ऊ प्रसन्न मुद्रामा थिई । उसको प्रसन्नताले म पनि खुशी थिएँ । अनि हातमा दुइवटा एफएमका चिठी थमाइ । अनी सोधी दाई तपाँइको नाम नि छ है फर्माइसमा सुन्नु है । होर मैले भने । नाम के राखेकी छौं त मेरो ? सुदर्शन आचार्य । हाहाहाहा म हाँसे उसो भए सबै ‘ए’ राख म वुझिहाल्छु नी नि हुन्न ।

उसले लजाउँदै भनी ए हैन उसो भए म ‘अ’ मात्रै राख्छु । खाम खोलेर आफैले चाइनेस पेनले नाम हटाइ अ लेखेर सच्चाइदिई । मैले तँपाईको नाम ‘अ’ राखे है । उसले भनी । अनि तिम्रो नाम के छ त रु गण्डकी उसले भनी । ए हो र उसो भए तिम्रो नाम पनि मैले राख्दिन्छु हुन्छरु मैले नि ‘अ’ माथी ँ दिएर अँ बनाईदिएँ र भने तिमी मेरो माथी बसेकी सिरबिन्दु हौं । हाहा नक्कले दाई भन्दै ऊ जुरुक्क उठेर चौरबाट ओरालो लागि ।

एफएममा उसले पठाएका गीतको फर्माइसमा मेरो नाम ‘अ’ मात्रै राखेर पठाउथीँ । लोकलहरीमा उसले गरेको लोकगित फर्माइसपछि उसले चाहेका नाममा नाम ‘अ’ मात्रै आँउदा मन खुशिले छचल्किन्थ्यो । मैले नि पठाउँथे तर उसको नाम लेख्ने कुनै साहस आएन । सानी कक्षा ८ मा पढ्ने सानी फुच्चीलाई फर्माइस गरेर लेख्न मनले नि दिएन ।

शहरमा बस्ने मेरो ‘अ’ लाई “मिर्मिरेको घाम लर्के जोवन तिम्रै हो राम राम ढाँटे मरिजाम” यो गीत सुनाउन चाहन्छु । यस्तो सन्देश मैले उसको बिहेको करिब एक हप्ता अघि सुनेको थिए । उस्को फर्माइस सुन्दा म कति खुशि हुन्थे यै मनलाई थाहा छ । केटिको मन दैबले जानुन भनेझै बिहे गरि तर निम्तो पठाइन । अरुकै मुखबाट सुने । बजारमा तेसै त बिरुप मलाइ तेस्कै बिहेको गाडीले धुलै धुलो बनाएर गयो ।

समय फेरिएको छ । आज उसले छाडेको नाम ‘अ’ मसँगै छ । मैले राखिदिएको ‘अ’ माथीको शिरविन्दु उसले झिकेर गएकी छ । उसको शिरको काँटा “शिरफूल” हराँउदा ऊ जति चिन्तित थिई । आज मेरो शिरविन्दु हराउँदा म त्यति चिन्तित छु ।

फेरि आज ऊ अत्यन्त प्रसन्न छ । सबै चिजले ऊ पूर्ण छ । मलाई सम्झ नि भन्दिन छोराछोरी हुर्काउ । श्रीमान लाई खुशी राख । सम्झिरहे एउटै कुरा हिजो जुन कारणले तिमिलाई रुवाएको थिए। अब कहिल्यै रुवाउने छैन । सुन्छु आजकाल हिन्दी सिरियल र फिल्म हेरन थालेकी तिमिले नेपाली गीत सुन्दिनौ होला तै पनि यो गीत गजल टाढैबाट भएपनि उसलाई समर्पण गर्न चाहान्छु । गित एकपटक सुनेर मलाई अवश्य कल गर्नेछौं भन्ने आशाका साथ।

ऊ जितेर गई या हारेर गई
नतिजा आफैतिर पारेर गई ।
हिजो निम्ता दिइ बस्न दिलमा
आज काँडे तारले बारेर गई।।।

  • सुदर्शन आचार्य



ताजा समाचार


विशेष समाचार