काठमाडौ:  सिहंदरबारभित्र पुराना गाडी मुक्त गराउन पुराना गाडी लिलामी गर्न या ममर्त गरी सञ्चालन गर्न मन्त्रिपरिषद्ले २१ वटै मन्त्रालयलाई निर्देशन दिएको छ । सिहंदरबारमा जथाभावी राखिएका थोत्रा गाडीले सिहंदरबारको सुन्दरता बिगारेको तथा प्रशासनिक खर्च बढाएको भन्दै सरकारले सिहंदरबारलाई थोत्रा गाडी मुक्त गर्न लागेको हो।

मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले २१ वटा मन्त्रालयलाई पठाएको पत्रमा प्रयोगमा आउन नसक्ने गाडीलाई लिलामी गर्न, मर्मत सम्भार हुन सक्ने गाडीलाई मर्मत सम्भार गरी प्रयोगमा ल्याउन तथा मन्त्रालयलाई बढी भएको गाडी प्रदेशमा पठाउनका लागि प्रधानमन्त्रीको कार्यालयलाई बुझाउन निर्देशन दिइएको छ।


यसअघि मन्त्रालयहरुसँग थोत्रा गाडी, प्रयोगमा आउन नसक्ने गाडी तथा समान्य मर्मत गरी प्रयोगमा आउन सक्ने गाडीको विवरण माग गरिएको थियो । सोही विवरणअनुसार मन्त्रालयलाई आइतबार दोस्रो पटक पत्र काटी गाडी व्यवस्थापन गर्न निर्देशन दिइएको हो । नागरिक दैनिकमा समाचार छ ।