इलामः गत साउनमा भारतीय सीमासँग जोडिएको पूर्वको सूर्योदय नगरपालिका–२, चारमाइलबाट भारत छिर्ने कच्ची सडक भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बन्द गर्न खोज्यो ।

वर्षौं पुरानो सडकको बीचमै खाडल खनेर आउ–जाउ रोक्ने प्रयास गरेपछि स्थानीय, जनप्रतिनिधि र प्रशासनले विरोध गरे। एसएसबी पछि हट्यो र सडकमा खनिएको खाडल आफैं पुर्न बाध्य भयो ।

नेपालबाट बिक्रीका लागि भारतीय बजारमा पुग्ने तरकारी रोक्न एसएसबीले दसगजा क्षेत्रमै सडक बन्द गराउने प्रयास गरेको थियो । सीमाक्षेत्र नै यकिन नभई सडक बन्द गर्न नमिल्ने भन्दै स्थानीयले विरोध गरेपछि सीमा क्षेत्र सर्वेक्षणसम्मका लागि सडक खुला गर्न एसएसबी सहमत भएको थियो ।


गत वर्ष पशुपतिनगरको फाटकसँग जोडिएको दसगजामा भारतले बौद्ध गुम्बा ठड्यायो । पुरानो गुम्बा मर्मतका नाममा भारतले कच्ची गुम्बाका ठाउँमा पक्की भवन बनाए पनि नेपाली पक्षले ‘माथिल्लो निकायमा जानकारी गराउने’ बाहेक अरु केही गर्न सकेन । दसगजामा दुईतले पक्की गुम्बा बन्यो। गुम्बा बनाउन थालेपछि भूमिसुधार तथा व्यवस्थापन विभागको टोलीले स्थलगत अध्ययन र नापजाँच पनि गर्‍यो र त्यो भूमि दसगजा नै भएको ठहर गर्‍यो । तर गुम्बा निर्माण रोकिएन । दसजगामै भारतले कस्टम अफिस, पुलिस चौकी र अन्य चारपाँचवटा घरटहरासमेत बनाइसकेको टोलीले पाएको थियो । भारतले ७१/६, ७१/७ र ७१/८ नम्बरका सीमास्तम्भभित्रको क्षेत्रमा संरचना निर्माण गरेको र गुम्बा बनाएको टोलीले बताएको थियो । यो समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।


प्रकाशित मितिः मंगलबार, कार्तिक २६, ०७:१९