दार्चुला: जिल्लाको उत्तरी क्षेत्रका सीमानाकाहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको कमाण्डमा ३२ जना सशस्त्र प्रहरीको टोली आज उत्तरी क्षेत्रका सीमा क्षेत्रतर्फ प्रस्थान गरेको छ ।

जिल्ला सदरमुकाम खलंगाबाट आज बिहान ९ बजे हातहतियार तथा बन्दोबस्तीका सामानसहित सीमा रक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले १० दिनसम्म सीमा क्षेत्रको अवस्थाका बारेमा जानकारी लिने छ ।

सीमा रक्षाका लागि खटिएको सशस्त्र प्रहरी टोलीले ब्यास गाउँपालिका–१ मा पर्ने लिपुलेकमा रहेको चीन र नेपालको सीमाना छुट्याउने पिलर नम्बर १ को समग्र अवस्थाका बारेमा जानकारी लिने भएको छ ।


सशस्त्र प्रहरीको टोलीले यो समयमा हुने वन्यजन्तुको चोरी शिकारीलाई समेत नियन्त्रण गर्ने जनाइएको छ । दार्चुलाका हिमाली क्षेत्रमा पाइने विभिन्न लोपोन्मुख वन्यजन्तुको चोरी शिकारी कार्यलाई नियन्त्रण गर्न अवैध हातहतियार भएको शंका लागेको घरमा छापा मारेर नियन्त्रणमा लिने छ ।