भारतले अघिल्लो साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण उत्पन्न विवाद समाधान गर्न नेपाल र भारत दुवै पक्षले सचिवस्तरीय बैठक बस्ने तयारी थालेका छन् ।

परराष्ट्र सचिव शंकर बैरागीका अनुसार केही साताभित्रै बैठक गर्ने गृहकार्य थालिएको छ । ‘यस विषयमा हामीले भारतीय पक्षसँग कुरा गर्नैपर्ने हुन्छ । कुराकानीका लागि छिट्टै टुंगो लाग्नेछ,’ उनले भने ।

बंगलादेशका राष्ट्रपतिको भ्रमणपछि भारतीय पक्षसँगको छलफलले गति लिने र मिति पनि तय हुने परराष्ट्र मन्त्रालय स्रोतको भनाई छ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद तीनदिने भ्रमणका लागि मंगलबार काठमाडौं ओर्लंदै छन् ।


मन्त्रालय स्रोतका अनुसार बैठकका लागि भारतीय पक्ष पनि सकारात्मक छ ।

गत शुक्रबार नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय विदेश सचिव विजयशेखर गोखलेबीच भएको भेटमा पनि कालापानीमा सीमा विवादका बारे छलफल भएको थियो । भारतको विदेश मन्त्रालयमा भएको उक्त नियमित भेटमा सचिव गोखलेले पनि विवाद समाधानका लागि छिट्टै सचिवस्तरीय बैठक गर्नुपर्ने आवश्यकता औंल्याएको स्रोतले जनायो ।

उक्त नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत भारतले समेटेपछि नेपालमा चर्को विरोध भइरहेको छ । भारतले यसअघि जारी गरेका नक्सामा पनि कालापानी क्षेत्रलाई एकपक्षीय रूपमा आफ्नो भूभागमा समावेश गर्दै आएको थियो । नेपालले त्यसलाई विगतदेखि नै ठाडै अस्वीकार गर्दै आएको छ ।आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।


प्रकाशित मितिः सोमबार २५ कार्तिक,, ०७:४८