काठमाडौंः प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि नेपालको भएको भन्दै प्रधानमन्त्री तहबाटै वार्ता र संवाद गरी सीमा विवाद टुग्याउन सरकारलाई सुझाएको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो देशभित्र समेटेपछि प्रधानमन्त्रीले शनिबार सर्वदलीय बैठक बोलाएका थिए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न बसेको बैठकमा सहभागी सबै राजनीतिक दलका प्रतिनिधि, पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुले सीमा विवादलाई प्रधानमन्त्री तहकै वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।


सुस्ता र कालापानीको सीमा विवाद सचिवस्तरीय संयन्त्रबाट टुंगो नलाग्ने बताउँदै सहभागीहरुले भने, ‘प्रधानमन्त्रीले आफ्ना भारतीय समकक्षीसँग वार्ता गरी राजनीतिक तहको आयोग गठन गरेर कूटनीतिक तवरबाट विवाद मिलाउनुपर्छ।’ अतिक्रमित भूमि फिर्ता लिन र कालापानीबाट भारतीय सेना फिर्ता पठाउन तत्काल प्रभावकारी पहल थाल्न सरकारलाई सहभागी दलका नेताहरुले आग्रह गरेका छन् । ‘आफ्नो भूभागको सुरक्षा र संरक्षण गर्न नेपाल प्रतिबद्ध छ,’ सहभागीहरुले प्रधानमन्त्रीलाई भने, ‘सरकारले पहल थालोस्, हामी साथमा छौं ।’


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ०७:२३