कुनै भूगोल राष्ट्र हो कि सम्पूर्ण राष्ट्र ? राष्ट्र भन्नाले सम्प्रभुसत्ता सम्पन्न भूगोललाई चिनिन्छ । यसभन्दा उच्च सम्पूर्ण राष्ट्र बन्नका लागि अरू थप आधारहरू तयार भएको हुनुपर्छ । सूम्पूर्ण राष्ट्र बन्न यी ५ आधार हुनु आवश्यक छ । सर्वमान्य सिमानासहितको भूगोल, त्यो भूगोललाई आत्मैदेखि सम्मान गर्ने जनता, सिमानाको रक्षा गर्नसक्ने सेना, जनताका मौलिक हक प्रत्याभूत गर्न सक्ने शासक र अन्तराष्ट्रिय कूटनीतिक मान्यताप्राप्त आइडेन्टिटी । यी ५ आधारहरू नभएसम्म त्यो भूगोल देश पनि बन्दैन । सामान्य नजरमा देशजस्तै लाग्ने भूगोलहररू सुरुका ४ आधार हुँदाहुँदै पनि अन्तिम आधार प्रस्तुत गर्न नसक्दा देश बन्न सकेका छैनन् ।


। खुला सिमाना भएकै कारण देश बन्दैन भन्न सकिँदैन तर सम्पूर्ण राष्ट्र बन्न सक्दैन । सम्पूर्ण राष्ट्र बन्न बनाउनका लागि सरकारले त्याग गर्न सक्नुपर्दछ । देशमा राजनेताहररू हुनुपर्दछ जो पदका लागि मात्र सत्तामा टिक्नु हुँदैन, पदका लागि मात्र अरूसँग झुक्न हुँदैन । यसबाहेक देशले सम्पूर्ण निर्णय आफै लिन सक्नुपर्ने हुन्छ ।

संसारमा प्रश्न परिस्थितिजन्य अनेक हुन सक्छन् तर उत्तर निश्चित र ठोस हुन्छ । अर्थात् एउटा सही उत्तरपछाडि हजारौं प्रश्नहरु छन् । नेपालीले नेपाल विकसित नहुनुको पछाडि के करण छन् भनेर हजारौं प्रश्न सोध्न सक्छन् । नेपालमा प्राकृतिक स्रोतसाधन प्रशस्त छन् । तिनको उपयोग किन भएनन् ? प्रश्न उठ्छ । यहाँ नदीहरु छन् , वनजंगल छ, अन्य प्राकृतिक श्रोत साधन छन् । जलवायु पनि त्यस्तो टिक्न नसकिने खालको छैन । यस्तो अवस्थामा नेपालको विकास किन भएन ? यस्ता हजारौंं प्रश्नहरु बन्न सक्छन् । त्यसको एउटै उत्तर हो खुला सिमाना । खुला सिमाना आफैमा खराब होइन तर यसले उब्जाएको परनिर्भरता देश विकास तथा समृद्धिको बाधक बनेको छ । अविकासको पराकाष्ठा हो र यो सम्पूर्ण राष्ट्रको बाधक पनि हो ।

हामीलाई चामल चाहियो सीमा खुला छ, खुर्सानी चाहियो सीमा खुला छ, तन्ना चहियो सीमा खुला छ । रोजगारी चाहियो सीमा खुला छ । नेपालमा खानेतेल किन्दा एक लिटरलाई १८० रुपैयाँयाँ पर्दछ सीमापारिबाट ल्याउँदा उस्तै देखिने तेल ८० रुपैयाँ नेपाली अर्थात रु ५० आइसी मा पाइन्छ । त्यो गर्न पनि सीमा खुला छ । तर तेलमा मेक्सिकान आर्जेमोना भन्ने अखाद्य वनस्पतिको तेल मिसावट भएको हामीलाई थाहा छैन । यसरी ८–१० रुपैयाँ सस्तोको चक्करमा हामी खुला सीमाको दुश्चक्रमा फसेका छौं ।

यो अवस्थाले गर्दा हामी चारैतिरबाट अपांग, अपाहिज हुँदै गयौं । सरकारले भन्सार शुल्कमा बाहेक हरेक विन्दुमा सम्पूर्ण देशको आभस दिन नै सकेको छैन । यी सबैको प्रमुख कारण भारतसँग प्रवेशाज्ञा लागू नै गरिएन र चीनसँग प्रवेशाज्ञा त लागू गरियो तर त्यसलाई निःशुल्क गरियो । त्यसैले अब नेपालमा जो जति बेला आए पनि भिसा स्विकृति लिएर आउनुपर्दछ र बाहिर जाँदा पनि सम्पूर्ण परिचय सहितको राहदानी अभिलेखीकरण गरेर मात्र जानुपर्दछ । जबसम्म देशले अफ्नो सिमाना बाँध्न सक्दैन तबसम्म विकासको कल्पना नगरे पनि हुन्छ ।

नेपाल द्विराष्ट्रवेष्ठित देश हो यसलाई पूर्व, दक्षिण, पश्चिम तीनतिर भारतले घेरेको छ र उत्तरमा चीन छ । दुवै देशमा लगभग २ अर्ब ७० करो जनता बसोबास गर्दछन् । त्यो विशाल जनसंख्यालाई नेपालमा आउन दिने वातावरण बनाउनु पर्दछ । जसले नेपाल र ती देशसँग आत्मीय सम्बन्ध विस्तार हुन्छ । आर्थिक सम्बन्ध विस्तार हुन्छ र उनीहररूको उद्यमशीलता तथा प्राविधिक क्षमता बुझ्ने अवसर प्राप्त हुन्छ । त्यसैले दुवै देशका पर्यटकलाई नेपालमा आउने वातावरण बनाउनु पर्दछ तर प्रवेशाज्ञाको व्यवस्था बिना गरिएको यात्राले यात्रीमा विदेशमा घुमेको आभास पनि हुँदैन र आत्मसन्तुष्टि पनि हुँदैन । अनुमतिबिना त आफ्नै घरमा पनि भित्र कोही छ भने पसिंदैन भने एउटा उच्च शिखरयुक्त देशमा प्वेशाज्ञाबिना प्रवेश गर्न दिन हुन्छ त ?

नेपालको पर्यटन व्यवसायमा भारतीय उच्च वर्गको योगदान सबैभन्दा बढी छ । नेपालका पाँचतारे होटलको अधिकांश अक्कुपेन्सी भारतकै पर्यटकबाट भरिएको हुन्छ । त्यसैले उनीहररूलाई विदेश घुमेको जस्तो आत्म सन्तुष्टि प्रदान गर्न पनि हामीले प्रवेशाज्ञाको व्यवस्था गर्नुपर्दछ । थोरै नै किन नहोस् भिसाशुल्क लिनुपर्दछ । किनकिकि प्रवेश गर्दा केही योगदान गर्नु हिन्दुधर्मको मर्म नै हो । हामीले श्राद्ध गर्दा भूस्वामि संकल्प गर्दछौं, त्यो प्राचीन भिसा शुल्कको एक स्वररूप हो । भूमि प्रयोग गरेपछि धरतीको मूल्य हामीले तिर्नै पर्नेहुन्छ र अररूबाट लिनु पनि पर्नेहुन्छ ।

उठेको भिसा शुल्कबाट हामीले नेपाललाई थप आकर्षक र थप सुरक्षित बनाउन सक्छौं । निर्माण मूलक काम गर्न सक्छौं र प्राविधिक शिक्षालाई थप वस्तुपरक, वस्तुनिष्ठ र समयसापेक्ष बनाउन सक्छौं । त्यसैले सिमाना व्यवस्थापनमा ढिलाइ नगरौं ।

खुला सिमाना नेपाल तथा भारत दुवै देशका लागि हितकर छैन । भारत ठूलो देश हो त्यसलाई धेरै असर नपर्ला तर नेपालका लागि यसले धेरै असर पार्दछ । नक्कली नोटको कारोबार, आतंकवाद, हत्या हिंसाका श्रृंखला आदि सबैलाई मूल्यांकन गर्दा दीर्घकालमा सीमा व्यवस्थापन दुवै देशका लागि आवश्यक छ । यो मनोगत कुरा होइन, भूयथार्थ हो । अमेरिकामा एउटा स्टेटबाट अर्को स्टेटमा जाँदा भिसा चाहिन्छ, भारतका विभिन्न प्रान्तमा परिचयपत्रबिना भारतीयहररू नै प्रवेश गर्न पाउँदैनन् ।

उद्देश्य र उपादेयता रहित खुला सिमाना विश्वमा कहीं पनि छैन, विश्वको सबैभन्दा लामो सिमाना अमेरिका–क्यानडाबीच छ र । यो सिमाना सबभन्दा शान्त र भद्र सिमाना मानिन्छ । तैपनि यहाँ एक प्रकारको परिचयबिना कोही पनि प्रवेश गर्दैन । दुवै सम्पन्नशाली देश भएकाले घुसपैठ र कालो बजारीको सम्भावना पनि निकै कम भएको ठाउँ मानिन्छ तर पनि भद्र प्रकृतिको सीमा व्यवस्थापन त्यहाँ पनि गरिएको छ ।

अन्यत्र यस्तो छ वा उस्तो छ भन्ने फेहरिस्त पेस गरेर आत्मरती गर्नुभन्दा सरकार, सत्ताका लागि लुछाचँुडी गर्नुपूर्व नेपालका जनता, संगठित भई बसेका पार्टीहररू, परपरागत शक्तिहरूका प्रतिनिधि सहभागी हुनेगरी एउटा अति गोप्य सम्पूर्णराष्ट्र समीक्षा बैठक बस्नु पर्दछ । उक्त बैठकले के कुरा पत्ता लगाउन सक्नुपर्दछ भने वास्तवमा तत्–तत् व्यक्ति सत्तामा बस्दा बजारमा हल्ला भएजस्तो विभिन्न निर्णय गर्दा दाबाब आएको थियो वा थिएन ? कुनै काम गर्न वा नगर्नका लागि भन्ने कुरा स्पष्ट हुनु पर्दछ । अनावश्यक कुरामा प्रोपगण्डा गर्न पनि राम्रो होइन। यदि केही भएको हो भने त्यो विषयको जड अध्ययन गर्नैपर्ने हुन्छ र त्यसको कारण र असरको खोजी गरेमा मात्र नेपाल एक सम्पूर्ण राष्ट्रको कोटीमा प्रवेश गर्नेछ । व्यवस्थित सिमाना राष्ट्रिय स्वाभिमानको विम्ब हो भन्ने कुरामा आँखा चिम्लिँदा सम्म देश अपूरो नै रहनेछ ।

  • रामप्रसाद गौतम

 


प्रकाशित मितिः बिहिबार,भदौ २८, १७:३१