काठमाडौंः विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड¬१९) को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउनका कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा गर्दै आएका सुकुमवासी टोलका परिवारलाई आज राहत वितरण गरिएको छ ।

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँगै रहेको सुकुमवासी बस्तीका १० घरका परिवारलाई राहत वितरण गरिएको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका एनटीएका अध्यक्ष अशोक खड्काले जानकारी दिएका छन् ।

वितरण गरिएको खाद्य राहत सामाग्रीमा चामल, तेल, नुन, चिनी र दाल रहेका छन् ।


। एक परिवारलाई करिब २ हजार १ सय रुपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

राहत सामग्रीका लागि दिल गुरुङ (हङकङ), मन राई (युके), तेक्वान्दोकर्मीहरु ईश्वरमान ब्रजाचार्य, तिलक लामा, नन्द विष्ट र श्रीकृष्ण खड्का तथा सार्प ट्राभलले आर्थिक सहयोग गरेका हुन् ।

उनीहरुबाट कुल ९१ हजार १ सय ५१ रुपैयाँ संकलन भएको अध्यक्ष खड्काले जनाएका छन् । दोश्रो चरणमा मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–२ स्थित आलापोटमा रहेका निम्न आर्थिक अवस्थाका परिवार, दलित र एकल महिलालाई राहत वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

२०७२ सालको शक्तिशाली भुकम्पमा पनि एनटीएले भुकम्प पीडितहरुलाई राहत वितरण गरी सहयोग गरेको थियो ।


प्रकाशित मितिः सोमबार, चैत २४, २१:४४