काठमाडौंः जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको छ ।

शिन्जो आबेले स्वास्थ्यका कारण पदत्याग गर्ने घोषणा गरेपछि उनको उत्तराधिकारी छान्न संसद्‌मा बुधबार भएको मतदानमा ७१ वर्षीय सुगाले जित हासिल गर्दै प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

जापानको तल्लो सदनमा प्रधानमन्त्री पदका लागि मतदान हुँदा कुल ४६२ सांसदमध्ये ३१४ जनाले उनलाई समर्थन गरे ।

यसअघि गत सोमबार सुगा सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेता निर्वाचित भएका थिए ।

सिन्जो आबेले आफ्नो कार्यकाल सकिनुभन्दा अघि नै स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि उनको बाँकी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको चयन गरिएको हो ।



प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, १४:०६