काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका प्रदेश ७ का १५ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालय (सुवि) ले आफ्नो आंगिक क्याम्पस घोषणा गरेको छ।

घोषणासँगै विश्वविद्यालयले त्यहाँ कार्यरत शिक्षक र कर्मचारीलाई समायोजन गरेको छ। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत समायोजन गरिएका क्याम्पसमा कैलालीको टीकापुर बहुमुखी क्याम्पस र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, दार्चुला क्याम्पस, बैतडीको पाटन बहुमुखी, जगन्नाथ बहुमुखी र मेलौली बहुमुखी क्याम्पस छन्।

त्यसैगरी डडेलधुराको त्रिवेणी बहुमुखी, डोटीको सीताराम बहुमुखी र घण्टेश्वर सेती महाकाली क्याम्पस, अछामको जनता बहुमुखी, बझाङको जयपृथ्वी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी, बाजुराको बडिमालिका क्याम्पस र बाजुरा बहुमुखी क्याम्पस छन्।


। टीकापुर बहुमुखी क्याम्पस त्रिविको सबभन्दा ठूलो आंगिक क्याम्पसका रुपमा थियो।

सुदूरपश्चिम विश्वविद्यालयले ती क्याम्पसको सम्पूर्ण स्वामित्व ग्रहण गर्दै सबै क्याम्पसमा प्रमुखको नियुक्तिपत्र प्रदान गरेको छ। विश्वविद्यालयले सोमबार काठमाडौंमा प्रतिनिधिलाई निमन्त्रणा गरी क्याम्पस प्रमुखको नियुक्तिपत्र प्रदान गरेको हो।

त्यसका साथै ती क्याम्पसमा कार्यरत २ सय १६ शिक्षक र कर्मचारीको समायोजन भएको पत्रसमेत दिएको छ। कार्यरत जनशक्ति स्थायी, अस्थायी र करार सेवामा छन्। विश्वविद्यालयकी उपकुलपति प्राध्यापक भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टले उक्त पत्र प्रदान गरेका हुन्।