काठमाडौंः बुढानिलकण्ठ नगरपालिका–१० कपन जुगल स्कुल नजिकबाट सुनको औंठी, मोबाइल तथा नगद लुटपाट गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१३ भङ्गाल बस्ने संखुवासभा घर भएका २१ वर्षीय सनिष राई र सोही ठाउँ बस्ने खोटाङ घर भएका १७ वर्षीय किशोर रहेका छन् ।

उक्त स्कुल नजिकबाट बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित दुर्गा मन्दिर नजिक डेरा गरी बस्ने उदयपुर बलम्पा गाउँपालिका–५ घर भएका एक पुरुषको औंठी, मोबाईल तथा नगद सनिष राई लगायत ६ जनाको समूहले लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।


लुटपाटमा संलग्न फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ४ मंगलबार, १७:१६