सुनसरीः विभिन्न मुद्दामा जिल्ला अदालत सुनसरीको फैसलाले कैद तथा जरिवाना ठहर भई फरार रहेका ३ जनालाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैदेशिक रोजगार कसुर मुद्दामा १ वर्ष ६ महिना कैद तथा १ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय भई फरार रहेका इटहरी उपमहानगरपालिका–१९ ठेगाना भएका ३३ वर्षीय रुपक थापा, बैंकिङ कसुर मुद्दामा १६ हजार ५ सय रुपैयाँ जरिवाना सजाय भई फरार रहेका इटहरी उपमहानगरपालिका–२ ठेगाना भएका ३२ वर्षीय संजय कुमार साह र लागूऔषध मुद्दामा १० हजार रुपैयाँ जरिवाना सजाय भई फरार रहेका इटहरी उपमहानगरपालिका–१९ ठेगाना भएका निर्मल लिम्बु रहेका छन् ।


लिम्बुलाई बिहीबार इटहरी उपमहानगरपालिका–१९ बाट तथा साह र थापालाई बुधबार इटहरी उपमहानगरपालिका–२ बाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला अदालत सुनसरीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १४:३०