चतरा: सुनसरी–मोरङ सिँचाइ योजनामा पानी उपलब्ध गराउने योजनाले कोसी नदीमा नयाँ ब्यारेज बनाइने भएको छ । उदयपुर र सुनसरीको सीमा चतरास्थित कोसी पुलनजिकै ६०० मिटर लामो ब्यारेज बनाउन लागिएको हो । यस आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भइसकेको छ ।

सिँचाइ विभागले ३ करोडको लागतमा हाइड्रो कन्सल्ट/इटिको/टीएमएस नामक कम्पनीसँग दुई वर्षमा अध्ययन सक्ने गरी सम्झौता गरेको छ  । मुलुककै ठूलो सिँचाइ योजनाको नहरमा पानी निकै कम हुन थाले पछि ब्यारेज निर्माण गर्न तर्फ सिँचाइ विभाग लागेको हो । कोसीको धार पश्चिमतर्फ सोझिँदै गएपछि उक्त सिँचाइ योजनाको नहरमा पानीको मात्रा कम हुन थालेको थियो ।


। सिँचाइ योजनाको ‘इन्टेक’ नजिकै ब्यारेज बनाएर पर्याप्त पानी पुर्‍याउने विभागको उद्देश्य रहेको छ ।

बहुचर्चित कोसी उच्च बाँध बनाइने भनिएकै स्थानमा नयाँ बाँध बनाइन लागिएको हो । नेपालको हितमा नरहने उक्त कोसी उच्च बाँधले १० जिल्लाका झन्डै १ लाख मानिसलाई विस्थापीत गर्नेछ भने त्यस बाँधको जलाशयले मात्र ९५ बर्ग किलोमीटर भू भाग ओगट्ने विज्ञले बताएका छन् । यस बाँध निर्माण बाट उर्वर भूमि र वन क्षेत्र सहित करिव ८२३.६५ वर्ग किलोमिटर क्षेत्र डुबानमा पर्ने जनाइएको छ । सिँचाइ विभागले यस निर्माधीन ब्यारेजको उचाई विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि मात्र थाहा हुने बताएको छ ।

पहिले नै विवादास्पद रहेको हालको कोशी ब्यारेजका कारण वर्षामा नेपाल र भारतको ठूलो क्षेत्र डुबानमा पर्ने गरेको छ । भारतले यसको जोखिम कम गर्ने बताउँदै सिँचाइ योजनाका लागि नयाँ बाँध बनाउन दबाब दिँदै आएको छ । पूर्वपश्चिम राजमार्ग जोड्ने कोसी ब्यारेजको करिब ४० किमि उत्तर तर्फ नयाँ ब्यारेजको प्रस्तावित निर्माणस्थल रहेको छ । नयाँ बन्ने भनिएको ब्यारेजको लम्बाइ करिब ६ सय मिटर हुने अनुमान गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोड्ने कोसी ब्यारेजको लम्बाई ११ सय मिटर लामो छ ।

नयाँ बन्ने ब्यारेज निर्माणपछि सुनसरी र मोरङको ६८ हजार हेक्टर जमिनमा बाह्रै महिना पानी सञ्चालन हुनेछ । यो बाहेक दुई जिल्लाको थप २० हजार हेक्टर र सप्तरी र सिरहाको ३० हजार हेक्टर जमिनमा पनि सिँचाइ पुर्‍याउने लक्ष्य सरकारको रहेको छ ।

परामर्शदाताले प्रारम्भिक अध्ययन गरी योजनाको हालको इन्टेकभन्दा माथि रहेको कोसी पुलदेखि ७ सय मिटर उत्तर, पुलनजिक दक्षिणतर्फ र पुलभन्दा करिब एक किलोमिटर दक्षिणमा गरी तीन स्थानलाई सम्भाव्य निर्माणस्थल भनेको छ । योजनाका अधिकारीहरूले भने तेस्रो विकल्पलाई उत्तम मान्दै त्यसैलाई प्राथमिकता दिने भएका छन् । पुलभन्दा करिब एक किलोमिटर तल इन्टेकनजिकै ४ सय ७० मिटरमा कोसी नदी फैलिएको स्थान उपयुक्त हुने उनीहरूको बुझाइ छ ।

मयाङ्क घिमिरे