काठमाडौंः सुनसरी र बझाङबाट तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको दुहबी नगरपालिका–३ बस्ने आलम हुसेनको काठ फर्निचरको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अनिश सिंह लगायत ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७७ हजार ७ सय १० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, बझाङको जयपृथ्वी नगरपालिका–७ सुबेडास्थित बेडु खोला बस्ने मोहन थापाको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ सुबेडा बस्ने ५० वर्षीय रामु खत्री लगायत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।


उक्त फर्ममा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३७ हजार ६ सय ९० रुपैयाँ र १० गड्डी तास सहित पक्राउ गरेको हो । साथै हाल फरार अन्य ४ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २४ सोमबार, १७:०२