काठमाडौंः सुनसरी र बाँकेबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ परेका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित सडकबाट १ सय एमएल लेखिएको ३० बोतल नियन्त्रित लागूऔषध डाइलेक्स डिसी सहित सोही गाउँपालिका बस्ने ४० वर्षीय चन्द्र नारायण साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उनी माथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ गलबन्दी नाला नजिकबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा बाँके डुडुवा गाउँपालिका–२ बेतहनी बस्ने २० वर्षीय अजय कुमार चौहान र सोही ठाउँ बस्ने २० वर्षीय चन्द्र प्रसाद चौहान रहेका छन् ।

प्रहरी चौकी तेलियनपुर बाँकेबाट खटिएको प्रहरीले बेतहनीबाट फुलटेग्रातर्फ आउँदै गरेको यूपी ४० एएल २२४६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकल चालक अजय र मोटरसाइकलमा सवार चन्द्रलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, १६:००