विराटनगरः सुनसरी र मोरङको दुई स्थानबाट अवैध लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

बिहीबार अपरान्ह ४ बजेको समयमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० बाट स्थानीय ४८ वर्षीय पुर्ण बहादुर लिम्बु र धरान–११ का ५० बर्षीय साखुरा लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनीहरुको घर कोठामा नै अवैध लागुऔषध संचित गरी राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुको घर कोठाबाट DIALEX-DC 100 ml लेखिएको ३६ बोतल, स्पास्मोप्रोक्सिवन प्लस ७२ क्याप्सुल, नाईट्रोसम ६ ट्याब्लेट, नगद २९ हजार ५०० समेत बरामद गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


यसैगरी, मोरङको कटहरी गाउँपालिका–१ बाट सोही गाउँपालिका–३ का २० वर्षीय अनुकेत माझी लागुऔषध सहित पक्राउ परेका छन् ।

उनको साथबाट प्रहरीले नाईट्राभेट ५०० ट्याब्लेट र डाईलक्स डि.सी. ७ बोतल बरामद भएको थियो ।

लागुऔषध सहित पक्राउ परेका माझीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १९ शुक्रबार, १२:३६