काठमाडौंः सुन्धारास्थित कारागार कार्यालय, जगन्नाथ देवलमा क्षमताभन्दा बढी कैदी रहेको पाइएको छ ।

महान्यायाधिवक्ताको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले गरेको अनुगमनमा उक्त कारागारमा क्षमताभन्दा बढी कैदी रहेको पाइएको हो ।

कारागारका प्रमुख गणेशप्रसाद भट्टराईले भौतिक संरचनाको अभावमा कारागारमा रहेका बन्दीलाई सुविधा दिन नसकिएको बताए । उनले प्रहरी अनुसन्धान र न्याय दिन ढिलो हुने गरेकाले बन्दीलाई समस्या भएको बताए ।

विसं १९७१ मा स्थापना भएको उक्त कारागारको क्षमता एक हजार २५० भए पनि अहिले कारागारमा करीब दुई हजार ७५० कैदी र थुनुवा रहेको कारागारका प्रमुख गणेशप्रसाद भट्टराईले जानकारी दिए।


महान्यायाधिवक्ता खरेलले प्रशासनिक र मुद्दाका मामिलामा समस्या देखिएको बताए। “समयमा कैदी र थुनुवाका फैसला नहुनेजस्ता समस्या देखिएका छन्”, उनले भने, “अब ती समस्यालाई महान्यायाधिवक्ता कार्यालयले सम्बोधन गर्नेछ ।” उनले साउनदेखि कैदीलाई दिइँदै आएको रकम रु ६५ बढाउन थालिएको समेत जानकारी गराए ।

उक्त कारागार कार्यालयमा केन्द्रीय बन्दीगृहमा एक हजार ६४७, भद्र बन्दीगृहमा ७७० र महिला बन्दी गृहमा ३२९ जना रहेका छन् । जसमा ३५० जना विदेशी रहेका छन् उनीहरुमा २६ जना महिला छन्। विदेशीहरु बढीजसो लागुऔषध कारोवार र प्रवेशाज्ञा अनुमतिपत्र सकेर नेपाल बसेकाहरु रहेका छन् । रासस