काठमाडौं: डेढ वर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा ‘उम्किएका’हरूले नै त्यही धन्दालाई निरन्तरता दिएको खुलेको छ ।

अहिलेको सुन तस्करी काण्डका मुख्य आरोपित ‘गोरे’ भनिने चूडामणि उप्रेतीसहितका व्यक्ति नै अघिल्लो प्रकरणका समेत आरोपित थिए, तर विभिन्न कारण देखाउँदै उनीहरूविरुद्ध मुद्दा चलाइएन । मुद्दाका प्रतिवादी सूचीबाट उम्किएपछि उनीहरू फेरि तस्करीमा सक्रिय भएको पछिल्लो प्रकरणको अनुसन्धानमा खुलेपछि उनीहरूमाथि गत वर्षकै मुद्दामा समेत जिल्ला अदालत काठमाडौंमा आरोपपत्र पेस गर्ने तयारी भएको छ ।

गोरेको संलग्नतामाथिको विषयवस्तु आरोपपत्रमा समावेश भए पनि बिगो मागदाबीका क्रममा ‘मत्थर’ बनाएर प्रस्तुत गरिएको देखिन्छ ।


। जस्तो, गत वर्ष सुनकाण्डका आरोपित दिलबन्धु थापाले बयानका क्रममा गोरेको नाम लिएका छन् । थापाले भनेका छन्, ‘गोरेलगायत समूहले दुबईमा सुन प्याक गरेका लगेज दिने र सामानको फोटो मेरो फेसबुकको म्यासेन्जरमा पठाइदिने गर्थे ।’ ब्युरोले त्यतिबेला थापाको म्यासेन्जरमाथि समेत अनुसन्धान गरेको थियो ।

अघिल्लो वर्षको अनुसन्धानमा एसएसपी श्याम खत्रीलाई सुन तस्करी मिलाउने फोकल पर्सनका रूपमा अभियोगपत्रमा प्रस्तुत गरिएको छ । हरेक ट्रिपमा एक लाख रुपैयाँ लिने उनले सबै प्रहरीलाई भाग मिलाउने गरेको भनी विभिन्न व्यक्तिको बयानमा उल्लेख छ । मुद्दामा दुबईबाट सुन किनेर नेपाल पठाउने, विमानस्थलबाट एक्स–रे छल्ने र पछि विभिन्न सुन पसलमा बेच्नेलाई मुद्दा चलाइएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।